भोगाई र भावनाका पाइलाहरु .........a blog by- Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

covid 19

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Sunday, May 3, 2020

चुल्होले आगो बिर्सिएको बेला

कोरोनाले संसार थल्लिएको बेला
मानव सभ्यता बेस्सरी तर्सिएको बेला
मेरो देश अघि, धेरै अघि बढेको बेला
खै के ? तयार गरिरहेछन्, बाँडिरहेछन
सङ्कटकालीन राहातका अध्यादेशहरु
धनुष उठाइरहेछन्
निसाना छुटाइ रहेछन्
गणतन्त्रका राजकुमारहरु
कलियुगका दुर्योधनहरु।

कोठामा मजदुर थुनिएकै बेला
चुल्होले आगो बिर्सीएकै बेला
देश आधुनिकतामा अघि बढेकै बेला
मे दिवसकै मौका छोपेर
खै के? खुवाइ रहेछन्, खाइरहेछन्
गणतन्त्रका महाराजाहरु
दाउराको आगोमा पकाउदै,पकाउदै
बिहान नन भेज, बेलुका भेज
केहि थान कविताहरु पस्किरहेछन्।
बाँझा नहुने खेतहरु
भोका नबस्ने पेटहरु।

बच्चाहरु घरमा बन्दी भएकै बेला
बमका छर्राले रोल्पामा रगत बगेकै बेला
लाखौ युवा परदेशमा बेवारिसे छोडिएकै बेला
मुग्लाने लाइ घर आउन रोकेर
खै के ? बहादुरी गरिरहेछन्
जनतन्त्रका रजौटाहरु
रगतको आहालम निब डोबेर
केहि थान सपनाहरु कोरिरहेछन्
सार्वभौम जनताका हिस्साहरु
नबग्ने रगतका किस्साहरु
नखस्ने आँसुका ढिक्काहरु।

Monday, April 27, 2020

हाइकु


डाँडाको घाम
भोलि उदाउने छ
यो हाम्रो चोला।

खोज्दैछ सास

आफै लाई बिर्सेर
कात्रोमा खल्ती।

निराश हुन्छ

मान्छे नमर्ने दिन
घाटे बाहुन।

कोरोना आयो
महल ठडिने छ
गरिबी सुन्य।

Thursday, August 29, 2019

बुवा

जिन्दगीका
कयौ उकाली हरु उक्लेर
त्यस्तै ओराली हरु  ओर्लेर
पिरहरुको आकाश बोेकेर
खुशीका फाटहरु हेर्दै
चुपचाप चुपचाप उभिरहने
मुस्कुराइ रहने 
त्यो अटल पहाड हो मेरो बुवा !

जिन्दगीका
थुप्रै बर्खाहरु रुझेर
उस्तै हिउद हरु सुकेर
उधो ऊभो गरिरहने
ढाकर र गोठाला हरुको
खर्पन बिसाउने
भञ्जायाङ्ग र चौतारी बनेर
शितलता दिइरहने
त्यो बर पिपल हो मेरो बुवा !

जिन्दगीका
झरना हरू सँगै बगेर
बगर हरुमा बजारीदै
जंघार हरुसँग जुध्दै
भगांलोहरुमा डुबुल्की मार्दै
जिन्दगीभरी किनारमा बसेर
अविछिन्न
अरुलाई तारीरहने
त्यो एक माझी हो मेरो बुवा !

जिन्दगीका
मोडहरुमा, घुम्तीहरुमा
आँधी तुफान हरु सँग जुधेर
अध्यारा ती रातहरुमा
मैन सँगै जलेर
खिइदै जाने,सकिदै जाने
सन्तानको लागी उज्यालो छरीरहने
मैनबत्तीको  त्यो शिखा हो मेरो बुवा !

A book  'Biography of VC Gurkhas' written by My Father.  Contact us to read this book.

Friday, June 7, 2019

मुक्तक


नफक्रिदै ओइलीएको त्यो फूल सम्झेर रोएँ 
जान अन्जानमा गरेको त्यो भूल सम्झेर रोएँ
कहाँ पुग्थ्यो सोचे जस्तै लुट्यो त्यो भावीले
निष्ठुरी दैव को त्यो चङ्गुल सम्झेर रोएँ।

आफ्नै भाग्य आफै लाई खोटो लाग्दैछ किन ?
बिधाताले कोरेको रेखा छोटो लाग्दैछ किन ?
एक दिन हराई जानु छ यो भीडबाट तिमी र म पनी
यो संसारीक मोह अनि जाल झुटो लाग्दैछ किन ?


Thursday, May 16, 2019

गजल

कुनै दिन मृत्यू सँग, हार्नु छ जिन्दगीले
यहा बाट टाढा बसाई, सार्नु छ जिन्दगीले

तिमी सँग रहर लाखौ होलान, हुनुपर्छ हुन त
बाच्ने रहर आफै कुल्ची, मार्नु छ जिन्दगीले

गरिवीको पिँडा यो दुनीयाले, के जानोस
रगत पसिना बेच्न संसार, चाहार्नु छ जिन्दगीले


महलको बसाई भरी पेट को सपना, देख्दैन यात्री
एक सरो कपडा आधी पेट, टार्नु छ जिन्दगीले


Saturday, May 4, 2019

तिमी ब्रहमाण्ड हौ आमा

आमा,
तिमी उडेको धुवाँ
कती माथी पुग्दै होला
यो आकाश भन्दा  माथी
ती तारा हरु भन्दा पनी माथी
तिमी बगेको खरानी
कती तल बग्दै होला
यी नदीहरु भन्दा  तल
ती सागरहरु भन्दा पनी तल
उडेर आकाश छोयौ
बगेर सागरमा पुग्यौ
आमा,
तिमीले छोडेको म
यहीँ धर्ती मै छु
तिमीलाई बगाई जाने
यो खोलाको किनार मै छु
तिमीलाई उडाई जाने
यो खोलाको बगर मै छु।








ममतामयी आमाको स्मृतिमा, आज माता तिर्थ औंसी आमाको मुख हेर्ने औंसी,  हार्दिक श्रद्धा सुमन !

Thursday, April 4, 2019

त्यो को हो?


आँखा भरी आँसु
मुटु भरी प्रियसीको याद
निधार भरी बाबुआमाको आशिर्बाद
मन भरी छोरा छोरीको सपना बोकेर
आफ्नै पैसाले बेचीएर
उठाउनै नसक्ने ऋणको झोला घिसार्दै
हात हल्लाउदै हल्लाउदै
विमानस्थल बाट बाहीरीने, त्यो को हो?

हवाई चप्पलमा उभिएर
हवाई मैदानकै बाहीर
कालो शिसामा
आफ्नै भाग्यको ग्रहुङगो टाउको अड्यार
कलेजोको टुक्रा
ओझेल नपरुन्जेल
आँखाको आँशु आँखाभित्रै लुकाएर
एकोहोरो टोलाइ रहेको, त्यो को हो?

महिनौ को लडाइँ पछी
युद्ध जिते जस्तै
आफ्नै माटो सम्झेर
हरियो पासपोर्ट सिरानी च्यापेर
चुपचाप चुपचाप
रातो बाकस भित्र
बोराले बेरीएर
बिमानस्थल बाट भित्रीने, त्यो को हो?

हात्ती छाप चप्पल बाट उक्लीएर
झन्डा वाल गाडीमा
मस्कीदै मस्कीदै
साखा सन्तान बोकेर
रातो कार्पेट माथी
जुत्ता टकटकाउदै,टकटकाउदै
अर्कैको पैशामा
सिटामोल किन्न्
बिदेश सयर गर्ने, त्यो को हो?

Tuesday, March 26, 2019

रातो बाकसमा बोकिन्छ जिन्दगी

थाहा छैन कहिले कहाँ, रोकिन्छ जिन्दगी        
   कर्कलाको पानी जस्तै, पोखिन्छ जिन्दगी।

भोको पेटको तुफानहरुले, उडाउदै लैजादा
दिल्लीका कोठी हरुमा, ठोकिन्छ जिन्दगी।

केवल एकसरो लगाउन र दुई छाक खान हो
मरुभुमीको तातो हावामा, जोखिन्छ जीन्दगी।

बस्तु हो गरीवको जुनी, किनबेच चल्छ बजारमा
म्यानपावर र दलालको भाउमा, तोकिन्छ जिन्दगी।

धन ल्याउने आशमा, बिदेशीएको हो छोरो
जुनैसुकै बेला रातो बाकसमा, बोकिन्छ जिन्दगी।


Tuesday, March 5, 2019

छिया छिया पारीदिनुस

यी मेरा हातहरु
काटेर फालीदिनुस !
खुट्टाहरु भाँचेर फालीदिनुस !
आँखाहरु फोडेर च्यातीदिनुस !
आमालाई आगो
सल्काएका हातहरु हुन।
कहिल्यै नफर्किने गरी
मेरी आमालाई घाट पु्‍‍‍‍र्‍‍‍‍‍‍‍याउने
खुट्टा हरु हुन ।
दन दनी आगो बलिरहदा
त्यो आमाको चितामा
टुलुटुलु हेरीरहने
यी मेरा आँखा हरु हुन ।
यी असक्षम मेरा अंग हरु
टुक्रा टुक्रा पारीदिनुस ।
गुनासो रहने छैन कसै सँग
छिया छिया पारीदिनुस ।



Tuesday, February 5, 2019

तिम्रो याद

 तिम्रो याद नआएको, यहाँ कुनै पल छैन
 जुनी जुनी तिम्रै हुँ म, यसमा कुनै छल छैन ।

 एक्लै जिउनू पर्दा यहाँ, सधैभरी उदासी छु
 पखाल्ने त्यो उदासी पन, धारा अनी कल छैन ।

 प्रत्येक स्वास आउदा जादा, तिमीलाई नै सोधी राख्छ
 नलीऊ भने तिम्रो नाम, मुटुको  नि चल छैन ।

 पवित्र छ  मेरो प्रेम, जन्मौ जन्म तिमीलाई नै
 जस्तो हुन्छ गंगाको जल, अर्को कुनै जल छैन।

 कहिँले काँही तिम्रो याद, नकल्पेरै बसु लाग्छ
 यो सृष्टीमा सुन्यताको, त्यस्तो कहीँ थल छैन।

 तिम्रो याद...............

Sunday, December 30, 2018

आमा


यो धर्ती मा तिमी छैनौ, कता हरायौ आमा  !
कहाँ गयौ सुन्यतमा , कता बिलायौ आमा !!

क्षितिज भन्दा पनी परसम्म, तिमीलाई खोजे
चम्किने तारा भयौकी, त्यो जुन लाई सोधे
यो धर्ती मा  ....

बादल सँगै उडी गयौकी,  निलो त्यो गगनमा
कहाँ भेटन आऊ आमा, तिमीलाई यो जिवनमा
यो धर्ती मा ......

आउछु आमा तिमीलाई भेटन,त्यँही पिॅंडीमा पर्ख
आमा तिमी गयौ एक्लै स्वर्ग,   म छु यहाँ नर्क

यो धर्ती मा तिमी छैनौ, कता हरायौ आमा !
कहाँ गयौ सुन्यतामा , कता बिलायौ आमा !!

Tuesday, September 18, 2018

पानी जस्तै बगी जाने रै छ जिन्दगानी

पानी जस्तै बगी जाने खोला रै छ जिन्दगानी
बग्दै, बग्दै सागर भेटन पुग्दो रै छ जिन्दगानी

पल पल,पल पल बित्दै जान्छ एकोहोरो
भरखरकै क्षण पनि नफिर्ने रै छ जिन्दगानी

बाचुन सम्म  तेरो मेरो डाहा इर्षा झैझगडा
मरे पछी धुवा बनी उडनु रै छ जिन्दगानी

फक्रे पछी  फुल ओईलीएर झरी जान्छ
जन्मे पछी मर्नै पर्ने चोला रै छ जिन्दगानी





Sunday, September 16, 2018

आज राती सपनीमा

आज राती सपनीमा, आफै मरको देखे
बेसी देखी तल धेरै तल, झरेको देखे ।

कोही अघी बोक्दै थिए कोही पछी पछी
बाटो भरी मास र चामल छरेको देखे।

रुदै थीए आफन्त जन डाको छाडी छाडी
मलाई देख्दा डराएर पर पर सरेको देखे ।

न कसै सँग दुस्मन थियो न कसै सग रिस
दैव ले नै डाह गर्दै मेरो  खुशी हरेको देखे ।

आकाशमा धुवाँ पर पर नदिमा खरानी उधै उधो
कहिल्यै नफर्कीने गरी यो सागर तरेको देखे ।





Saturday, September 15, 2018

चल्दै छ जिन्दगानी


थोत्रो गाडी जस्तै, चल्दै छ जिन्दगानी
ग्यारेज मर्मत  सम्भार, चल्दै छ जिन्दगानी

जलाई दिन्छु भन्थे, मेरो अभावमा उसलाई
ठुटा जस्तै चुरोटको, जल्दै छ जिन्दगानी

थुप्रै आसा बोकेर, बिउझन्छ मिरमिरे उषा
बिस्तारै पश्चिम तिर , ढल्दै छ जिन्दगानी

पहाड चढनु छ, क्षितिज पर सम्म हेर्नु छ
डाडा नकुल्चेको धेरै भो, गल्दै छ जिन्दगानी

खुव सपना हरु देखायो, यो साला जिन्दगीले
आजकल आफै लाई नै, छल्दै छ जिन्दगानी


Sunday, September 2, 2018

लेख्नु छ ढुङ्गे इतिहास

लेख्नु छ ढुङ्गे इतिहास
तरबारका निब हरुले
बलत्कारीका रगत हरुले
ति उखु बारीहरुमा 
कहिल्यै नमेटीने गरी ।
कोर्नु छ अन्तीम चित्र
मानव रुपी राक्षस हरुको
उसकै रगतले ।

नङ्ग्याउनु छ
ती मतियार हरुलाई
उभ्याउनु छ 
टुडेखेल को बिचमा
छेदन गर्नु छ 
तिनका कुकृत्य गर्ने अंग हरु
जरै देखी उखेल्नु छ  ति चित्कार नसुन्ने कानहरु
फोडनु छ त्यो रोदन नदेख्ने आखाहरु
भाच्नु छ 
ति  अबोध लाई समाउने हातहरु ।

सम्झीरहने छन मतियार हरुले
तड्पीरहने छन ति हत्याराहरु
र लेख्नु छ नया इतिहास
फुलाउनु छ फूल, ति उखूबारीहरुमा
सुन्नु छ चरीको चीर विर आवाज
हेर्नु छ सुनौलो बिहानी
युगौ  युग सम्म ।





Saturday, July 2, 2016

राता बाकस हरु

च्यातिन्छन, टुक्रिन्छन,फुटछन
 र
उड्छन
कति, कति निर्दोस ति सपनाहरु,
बमको धमाका सँगै
उठेको तुवालो जस्तै 
बिलीन हुन्छन
क्षितिजमा
त्यो सुन्य मरुभुमिको आकाशमा
पखालिन्छन् सिन्धुर हरु !
रितीन्छन काखहरु !
टुहुरा हुन्छन ती अबोधहरु !

न कुनै अतीबाद सँग
आस्था थियो
न कुनै साम्राज्य सँग
साईनो थियो
न कसै सँग वैरभाव थियो ।
थियो त केवल
भोको पेट
नाङ्गो शरीर
चुहिएको छानो
ओखतीले थामिएका बा, आमा
प्रियसीको
फाटेको चोली
छोरा, छोरीको आसा
नेताहरुले पिस्दा पिस्दा
बाँकी रहेका
एक जोर पाउ
दुई हात
ति सबै पिर हरु बोक्ने
बिशाल ह्रदयको छाती
एउटा सानो मुटु !

बिचरा,साँइलो !
गर्लाम्य ढल्यो
त्यो बिरानो सहरमा
क्रुर हरुको  बस्तिमा
पायो
श्रदाजंलीका अक्षरहरु
एक थुगाँ फूल
अनी
आस्वासनका मालाहरु
थाहा छैन,
कतिजेंल चलिरहन्छ यसैगरी
कलीला ति जवान हरुको निर्यात
राता बाकस हरुको आयात
ऊफ !
यहि हो गोर्खालीको नियती !
यहि हो नेपालीको जिन्दगी !


Saturday, October 22, 2011

यसपालि नी आइन दिदी

पोहोर ढाटे परार ढाटे, यसपालि नि आइन दिदी
रहर थियो टिका थाप्ने, छुट्टी मैले पाइन दिदी

देउसी भैलो रमाइलो, गर्दै होलान् इष्टमित्र
यसै बित्यो यसपालि नि, देउसी भैलो गाइन दिदी

दशैँ बित्यो रुदा रुदै, तिहार पनि उसै जाला
भत्के पछि मनहरु, दशैँ कै दिन खाइन दिदी

भन्छन कोही टिका लगाउ, म पनी त बहिनी नै हुँ
हजुर बाहेक अरु कसैको,  टिका मैले लाइन दिदी

आशुको नै सप्तरंगी, गला भरी पहिरी राछु
त्यसैले त हजुर सँग, अनलाइन मा छाइन दिदी



Saturday, September 3, 2011

आज घर उस्तै छ

आज घर उस्तै छ
आज डर उस्तै छ
नाङ्गो जीउमा कपडा सिईदिन्छु भन्थ्यो
खाली पेटलाई सामल दिईदिन्छु भन्थ्यो
त्यँही जीउ ढाक्न कात्रो दियो
 पेट भर्न गोली दियो
आज घर उस्तै छ
आज डर उस्तै छ
चुईने छानो टाली दिन्छु भन्थ्यो
गरवी सबै फाली दिन्छु भन्थ्यो
त्यँही छानो मा आगो लगायो
सुकम्बासी बस्ती भगायो 
आज घर उस्तै छ
आज डर उस्तै छ
जनताको शासन ल्याउछु भन्थ्यो
भष्ट्रचारी सबै भ्याँउछु भन्थ्यो
त्यँही जनता सबै रैती बनायो
भष्ट्रचारले देशै गनायो
आज घर उस्तै छ
आज डर उस्तै छ
चिल्ला गाडी चढ्ने लाई हिडाउछु भन्थ्यो
सामन्ति सबै लाई गिडाउछु भन्थ्यो
 चिल्ला गाडी भित्र  हाँसी रहेछ
सामन्त बनेर नाँची रहेछ
आज घर उस्तै छ ।
आज डर उस्तै छ ।



Friday, August 12, 2011

६०१ फेल भयो

हाम्रो देशको गणतन्त्र, कुर्ची तान्ने खेल भयो
सिधा सादा जनतालाई, हुन सम्म झेल भयो

नाना थरी सपना बाड्यौ, गणतन्त्र ल्याउने बेला
दुखी गरिब जनतालाई, गणतन्त्र वेल भयो

कति मरे अनाहाकमा, जनयुध्द पगेरीमा
शहिदको रगत आज, ब्यर्थको भेल भयो

लेख्छऊ भन्दै के के कुन्नि, सत्ता भत्ता पोको पारे
संविधान त जनतालाई, भुलाउने सेल भयो

फिर्ता देऊ भत्ता अब, पाईदैन जनता लुटन
तिन बर्ष भो केही गरेनन्, ६०१ फेल भयो


Wednesday, July 20, 2011

एक अनौ जिन्दगी

असरल्ल ब्याथाहरु
गरा, खेतको आलीमा बिसाउदै
छरपष्ट सपना हरु बटुल्दै
क्रमबद्ध लम्किरहेछ
दुई आत्माको पछि पछि
फगत बाच्नको लागी
प्राप्ती !
एक अनौ जिन्दगी