भोगाई र भावनाका पाइलाहरु .........a blog by- Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

covid 19

Thursday, August 29, 2019

बुवा

जिन्दगीका
कयौ उकाली हरु उक्लेर
त्यस्तै ओराली हरु  ओर्लेर
पिरहरुको आकाश बोेकेर
खुशीका फाटहरु हेर्दै
चुपचाप चुपचाप उभिरहने
मुस्कुराइ रहने 
त्यो अटल पहाड हो मेरो बुवा !

जिन्दगीका
थुप्रै बर्खाहरु रुझेर
उस्तै हिउद हरु सुकेर
उधो ऊभो गरिरहने
ढाकर र गोठाला हरुको
खर्पन बिसाउने
भञ्जायाङ्ग र चौतारी बनेर
शितलता दिइरहने
त्यो बर पिपल हो मेरो बुवा !

जिन्दगीका
झरना हरू सँगै बगेर
बगर हरुमा बजारीदै
जंघार हरुसँग जुध्दै
भगांलोहरुमा डुबुल्की मार्दै
जिन्दगीभरी किनारमा बसेर
अविछिन्न
अरुलाई तारीरहने
त्यो एक माझी हो मेरो बुवा !

जिन्दगीका
मोडहरुमा, घुम्तीहरुमा
आँधी तुफान हरु सँग जुधेर
अध्यारा ती रातहरुमा
मैन सँगै जलेर
खिइदै जाने,सकिदै जाने
सन्तानको लागी उज्यालो छरीरहने
मैनबत्तीको  त्यो शिखा हो मेरो बुवा !

A book  'Biography of VC Gurkhas' written by My Father.  Contact us to read this book.

Saturday, August 17, 2019

डायरीको पाना बाट

   
  श्रावणको महिना २०५१ साल २० गते बिहीबार राती १०ः३० बजेको छ झिमिक झीमीक गरी चल्ने मेरो घडीमा, कोठामा टुकी बलीरहेको छ, टुकीको उज्यालो मा एउटा झोला  देखिन्छ यत्रतत्र छरीएका मेरा कपडाहरु जुन झोलामा ती कपडाहरु र केही समान हरु हाल्नु छ अनी सुत्नु छ तर म नत समान मिलाउन सकेको छु नत निदाउनै।  मेरो कोठा भन्दा बाहीर जुनको उज्यालो छ सीमसीम पानी परीरहेको छ तै पनी किन हो झ्याल खोेलेर बाहीर हेरीरहेछु यो जुनको उज्यालो मा देखीने बाहीरको दृष्य मलाई हेरेर रोइरहे जस्तै लाग्छ। भर्खर जरा टेकेका धान हरु लहरै देखिने यी फाँटहरु,मंसिरको मीठो कल्पनामा  लहलाउदै गरेका कलीला धानका बोट हरु, बर्षातले भिजेका यी पाटाका काल्नाहरु, कतै  राता ढिस्काना हरु पहीरोले भत्काइएका  गराहरु, पाटाहरु, बाटाहरु र ति सँगै भत्केका कयौ मनहरु सपनाहरु। घरको छेवैमा गोठ छ जहाँ २ वटा भैसी, दुई ओटा गरू बाधीएका छन केही दिन पछी गरुहरु पारी को गाऊमा लान्छन हाम्रो खेत रोपेर सकीएको छ अधिया पाल्ने हरुले बारी जोत्नको लागी लैजाने बिचरा गरूहरु सबै ठाऊमा जोत्न हिड्नु पर्ने, गोठ फेरी ठुलो हुनेछ भैसी हरु एक्लै हुनेछन। घडी एकतमास चली रहेछ म रोक्ने प्रयास गर्दा गर्दै समय बगीरहेछ। अघी सम्म आमाले के के कुरा पोको पार्दिदै हुनुहुन्थ्योे,  सिन्की, खट्टे, कोदाको पीठो, भट्ट,सिरम्ला, भुटेको मकै, तितौरा,मह, घ्यु  आमाको मनले खुवाउन मन लागे जती सब पोको पार्दै हुनुहुन्थ्यो। भोली बिहान भाले ले उज्यालो नडाक्दै घर बाट हिड्नु छ, मलाई छोडन बाबा जादै हुनुहुन्छ। मेरो सानो भाइ र आमा बस्नुहुनेछ, भाइ लाई थाहा छैन उ सानै छ दाइ कहाँजादै छ  तर आमा बिहानै देखी मलीन हुनुहुन्छ आजसम्म आमाको काख नछोडेको म, त्यही पिरले आमा सुकसुकाई रहनु भएको छ अझै पनी पल्लो कोठामा आमा सुत्नु भएको छैन। मेरा २ दिदी हरुको बिहे भैसक्यो, अहिले कान्छी  दिदि कलकत्तामा हुनु हुन्छ, जेठी दिदि काठमाण्डौ पढ्दै हुनुहुन्छ म पनी उहाँ सँगै बसेर पढने हो।

         जिन्दगीका बाटाहरु कहाँ सरल रेखामा कोरीन्छन र, यो त बक्र रेखा हो बाङ्गा टिङ्गा गरी कोरीदै अघी बढ्छन अकबल सरले गणीतमा कोरे जसरी । यही सालको S.L.C. मा पास भए पछी भविस्यको खोजीमा क्याम्पस पढ्न भोली बिहान काठमाण्डौ हिड्नु छ, दुइ दिनको पैदल यात्रा त्यसपछी एक दिन भरीको बस चढेर काठमण्डौ पुगिन्छ। यहाका साथी संगी मेलापात,घाँस दाउरा उकाली ओरालीहरु लाइ केही समयको लागी छोडेर त्यो बिरानो ठाँऊमा जानु छ। जहाबाट बुवाका सपनाहरु पुरा गर्नु छ आमाका खुसी हरु बटुल्नु छ र मेरो जिन्दगीको गोरटे कोर्नु छ। थाहाछैन म कहाँ पुग्छु अनी बुवाआमाको सपना पुरा गर्छु, तै पनी म सधै सतकर्म मा लागीरहने छु। कती प्रयास गर्दा पनी निन्द्रा आएको छैन समान हरु झोलामा राखी सके निदाउन नसके भोली हिड्नु गाह्रो हुन्छ निदाए भने यो मेरो घरको आँगन हेर्न २ महीना कुर्नु पर्दछ, मेरो आँगनले सोचीरहला यो उफ्रीरहने केटो कहाँ गए होला? आमाको आँखाको आशु ओभाउ लाकी नओभाउला? सानो भाइको आखाले मलाई कती सोध्ला? बुवाको मन कती भारी होला? आँखामा देखाउन नमील्ने पिडा मनमा बोक्नु पर्दा। मेरो आँखाले ति भिडहरुमा आमालाई कति खोज्ला? भाइलाइ कती खोज्ला ? बुवालाइ कती खोज्ला ? यो आँगनको अभाव कती खड्केला?  हुनत दशै मा फेरी फर्कीहाल्छु र भेेट्छुनी भाइलाई, खेलौला नी फेरी यहीँ आँगनमा डण्डीबियो, जाउला नी आमा सँगै घास दाउरा,मेला पात तल मिल सम्म, कती रमाईलो हुने होला म फर्की आएको बेला सबै खुशी हुने छन अझै म तर त्यो समय आउन टाढा छ, भोली बिहानै हिड्नु छ।   होस  आ अव सुत्छु यस्तै हो जिन्दगी बक्र रेखा जस्तै...........पानी जस्तै बगी जाने







Friday, June 7, 2019

मुक्तक


नफक्रिदै ओइलीएको त्यो फूल सम्झेर रोएँ 
जान अन्जानमा गरेको त्यो भूल सम्झेर रोएँ
कहाँ पुग्थ्यो सोचे जस्तै लुट्यो त्यो भावीले
निष्ठुरी दैव को त्यो चङ्गुल सम्झेर रोएँ।

आफ्नै भाग्य आफै लाई खोटो लाग्दैछ किन ?
बिधाताले कोरेको रेखा छोटो लाग्दैछ किन ?
एक दिन हराई जानु छ यो भीडबाट तिमी र म पनी
यो संसारीक मोह अनि जाल झुटो लाग्दैछ किन ?


Friday, May 17, 2019

उखान टुक्का भाग २

  • बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काध माथी ।
  • नमरी स्वर्ग देखीन्न।
  • चिन्नु न जान्नु ढुंगा ले हान्नु।
  • हात्ती को मुखमा जीरा।
  • हात्ती छिर्‍यो पुच्छर अड्क्यो ।
  • हात्ती आयो हात्ती आयो फुस्स।
  • हत्केलाले घाम छेकिन्न ।
  • मुखमा राम राम बगलीमा छुरा।
  • नमच्कीने पीङ को सय झढ्का।
  • जती हुन्छन काला तेरै बाउका साला।
  • रात रहे अग्राख पलाऊछ।
  • कानो गरुलाई औसी न पुणीमा।
  • बाहुन ले च्याउ खाओस न स्वाद पाओस।
  • खाएका ले पो खान्छ बासी कुराउनी।
  • मर्ने बेला हरीयो काक्रो ।
  • खोलो तर्‍यो लौरो बिर्‍यो ।
  • मेरो गरुको बाह्रै टक्का ।
  • हुने हार दैव नटार ।
  • जो चोर उसकै ठुलो स्वर ।
  • अकवरी सुनलाई कसी लगाउनू पर्देन ।
  • ओराली लागेको बाघ लाई मृगले पनी खेद्छ ।
  • बाघ बुढो स्याल तन्नेरी ।
  • झरला र खाम्ला। 
  • भाग्य छ भन्दैमा डोको मा दुध अडिन्न।
  • झाडु लगाउनु पर्ने कसीङगर हावाले उडायो।
  • हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात।

Thursday, May 16, 2019

गजल

कुनै दिन मृत्यू सँग, हार्नु छ जिन्दगीले
यहा बाट टाढा बसाई, सार्नु छ जिन्दगीले

तिमी सँग रहर लाखौ होलान, हुनुपर्छ हुन त
बाच्ने रहर आफै कुल्ची, मार्नु छ जिन्दगीले

गरिवीको पिँडा यो दुनीयाले, के जानोस
रगत पसिना बेच्न संसार, चाहार्नु छ जिन्दगीले


महलको बसाई भरी पेट को सपना, देख्दैन यात्री
एक सरो कपडा आधी पेट, टार्नु छ जिन्दगीले


Saturday, May 4, 2019

तिमी ब्रहमाण्ड हौ आमा

आमा,
तिमी उडेको धुवाँ
कती माथी पुग्दै होला
यो आकाश भन्दा  माथी
ती तारा हरु भन्दा पनी माथी
तिमी बगेको खरानी
कती तल बग्दै होला
यी नदीहरु भन्दा  तल
ती सागरहरु भन्दा पनी तल
उडेर आकाश छोयौ
बगेर सागरमा पुग्यौ
आमा,
तिमीले छोडेको म
यहीँ धर्ती मै छु
तिमीलाई बगाई जाने
यो खोलाको किनार मै छु
तिमीलाई उडाई जाने
यो खोलाको बगर मै छु।








ममतामयी आमाको स्मृतिमा, आज माता तिर्थ औंसी आमाको मुख हेर्ने औंसी,  हार्दिक श्रद्धा सुमन !

Thursday, April 4, 2019

त्यो को हो?


आँखा भरी आँसु
मुटु भरी प्रियसीको याद
निधार भरी बाबुआमाको आशिर्बाद
मन भरी छोरा छोरीको सपना बोकेर
आफ्नै पैसाले बेचीएर
उठाउनै नसक्ने ऋणको झोला घिसार्दै
हात हल्लाउदै हल्लाउदै
विमानस्थल बाट बाहीरीने, त्यो को हो?

हवाई चप्पलमा उभिएर
हवाई मैदानकै बाहीर
कालो शिसामा
आफ्नै भाग्यको ग्रहुङगो टाउको अड्यार
कलेजोको टुक्रा
ओझेल नपरुन्जेल
आँखाको आँशु आँखाभित्रै लुकाएर
एकोहोरो टोलाइ रहेको, त्यो को हो?

महिनौ को लडाइँ पछी
युद्ध जिते जस्तै
आफ्नै माटो सम्झेर
हरियो पासपोर्ट सिरानी च्यापेर
चुपचाप चुपचाप
रातो बाकस भित्र
बोराले बेरीएर
बिमानस्थल बाट भित्रीने, त्यो को हो?

हात्ती छाप चप्पल बाट उक्लीएर
झन्डा वाल गाडीमा
मस्कीदै मस्कीदै
साखा सन्तान बोकेर
रातो कार्पेट माथी
जुत्ता टकटकाउदै,टकटकाउदै
अर्कैको पैशामा
सिटामोल किन्न्
बिदेश सयर गर्ने, त्यो को हो?

Thursday, March 28, 2019

उखान टुक्का भाग १

  • के खोज्छस् काना? आखो।                                   
  • घाटी हेरी हाड निल्नु।
  • दिन भरी करायो दक्षीणा हरायो।
  • काम छैन बुहारी पाडाको ढाड कन्याईदे।
  • गाठी न गुठी जरजरी उठी।
  • जब प‍र्‍यो राती उसै बुडी ताती।
  • ताक परे तिवारी नत्र गोतामे।
  • लङ्कामा  सुन छ कान बुचै।
  • धान खानी मुसो चोट पाउनी भ्यागुतो।
  • राजाको काम कहीले जाला घाम।
  • न यता न उता हातमा जुता।
  • खाई न पाई छालाको टोपी लाई।
  • बादर को पुच्छर टाई न इजार ।
  • हलो काटी मउरो।
  • बाह्र वर्ष रामायण पढायो सीता कसकी जोई।
  • नपाउनीले केरा पायो बोक्रै सित खायो ।
  • खुकुरी भन्दा कर्द लाग्नी।
  • माउ भन्दा चल्ला बाठो।
  • अगुल्ठो ले हानेको कुकुर बिजुली चम्कीदा तर्सीन्छ।
  • नांङलो ठटाएर हाती तर्साउनी।
  • नाच्न जान्दैन आगन टेढो।
  • छोरो पाउनी कैले कैले भोटो सिउनी अहिले।
  • पढायो पढायो पाठ सोह्र दुना आठ।
  • जहा इच्छा त्यहाँ उपाए।
  • खाने मुख लाई जुगाँ ले छेक्दैन।
  • नजाने गाउँको बाटो नसोध्नू।
  • मरेपछी डुमै राजा।